१० वर्षदेखि अवैध मोबाइलको व्यापार, व्यक्तिगत खाताबाटै ३३ करोडको कारोबार


राजस्व अनुसन्धान विभागले एक जनाविरूद्ध ४३ करोड कर छलीको अभियोगसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। कुनै पनि निकायमा दर्ता नभई कतै पनि कर नतिरी वर्षौदेखि मोबाइल तथा विद्युतीय सामग्रीको कारोबार गरिरहेका काठमाडौं महानगरपालिका १५ स्थायी ठेगाना भएका मयुर मालाकारविरूद्ध विभागले  गत आइतबार(असार २१ गते) मुद्दा दायर गरेको हो।

मालाकारले २०६६ साल देखि नै नेपालमा मोबाइल तथा विद्युतीय सामग्रीको कारोबार गर्दै आएका थिए। तर उनले सुरूदेखि नै कतै पनि दर्ता नभएको विभागको अध्ययनबाट देखिएको छ।

'२०६६ सालदेखि उनी विद्युतीय सामग्रीको व्यापारमा लागेको देखिएको छ। तर हालसम्म कुनै पनि फर्म दर्ता पनि गरेका छैनन् कर त तिर्ने कुरै भएन' विभागका विभागका महानिर्देशक दीर्घराज मैनालीले भने।

एक दशकअघि काठमाडौंको दरबारमार्गमा एउटा स्टोर सञ्चालन गरे पनि पछिल्लो समय भने मालाकारले भूमिगत व्यापार गरिरहेका थिए।

भन्सार चोरी पैठारी गरी अवैधानिक कारोबार गरेको, व्यक्तिगत बैंक खाताबाट ठूलो परिणामको कारोबार भएको र उनका यी गतिविधि नेपालको प्रचलित कानूनविपरीत देखिएकाले मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ।

भन्सार, मूल्यअभिवृद्धि कर तथा आयकर कानुनको उल्लंघन गरेकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसारको ४३ करोड १८ लाख विगो असुल गरी विगोको दोब्बर जरिवाना तथा सजायको माग गर्दै मुद्दा दायर भएको छ।मालाकार एक जना कर्मचारीलाई पनि सहयोगीका रूपमा अभियुक्त बनाइएको छ।

लामो समयदेखि नेपालमा भन्सार छलीका मोबाइल नेपालमा ल्याएर विक्री-वितरण गरिरहेका मालाकारले आफ्नो अवैध कारोबारलाई १० वर्षसम्म लुकाउन सफल भए। सन् २०१० मा दरबारमार्गमा स्टोर सञ्चालन गरेको भए पनि पछिल्लो समय भने उनले भूमिगत स्टोर वा कार्यालय क्षेत्रपाटीमा बनाएका थिए।

कतै दर्ता नभएको, कारोबार पनि व्यक्तिगत खाताबाटै गरेका मालाकारले कर्मचारीको खातासमेत प्रयोग गरेका थिए। त्यसरी कारोबार गरिरहेका उनले अवैध कारोबार गरिरहेको सूचना नेपाल प्रहरी हुँदै विभागसम्म पुग्यो।

विभाग आफैंले पछिल्लो समय विद्युतीय सामग्रीको अवैध कारोबार भइरहेको र पछिल्लो समय सरकारले भ्याट फिर्ताको नीति खारेज गरेपछि झनै बढेको हुनसक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिरहेको थियो।

'नेपाल प्रहरीको सहयोगमा छापा मारेर अभियुक्त मालाकार बस्ने टोखाको अपार्टमेन्ट तथा स्टोरबाट गरी ५३ लाख बराबरको त विद्युतीय सामग्री नै फेला परे' विभागका महानिर्देशक मैनालीले भने।

२०६६ सालदेखि नै मोबाइल व्यापारमा लागेका मालाकारले कतै पनि संस्थागत कारोबार गरेको तथा  संलग्नता भएको विभागले भेटाएको छैन।

तर उनको व्यापारको आकार कहिलेदेखि बढ्यो भन्ने पनि यकिन त भएको छैन। तर उनले पछिल्लो समय भन्सार नतिरी विदेशबाट मोबाइल ल्याउँथे।

नेपालका होलसेलहरूमा उनको सम्पर्क हुन्थ्यो। अथवा सम्बन्धका आधारमा उनले त्यस्तो सञ्जाल बनाएका थिए जसबाट दैनिक ठूलो संख्यामा मोबाइल तथा डिभाइस वितरण गर्नसक्थे।

सबैगरी २० प्रतिशतसम्म कर तिर्नुपर्नेमा नतिरी ल्याउँदा उनले दिने मोबाइल त्यसै पनि औपचारिक रूपमा आउनेभन्दा सस्तो हुने भयो। त्यसैले गर्दा सहजै वितरण हुन्थे। यही आधारमा उनले व्यापार बढाउँदै थिए।

मालाकारको आउजाउ हङकङ धेरै छ। अहिले पनि फरार सूचीमा रहेका उनी हङकङमै भएको हुनसक्ने अनुमान गरिएको छ।

‍विभागको अनुसन्धानको क्रममा मालकारको व्यक्तिगत खाताबाटै ३३ करोडको कारोबार भएको पाइएको छ।

एउटा व्यक्तिको खाताबाट यत्रो ठूलो रकम कारोबार हुँदा नेपाल राष्ट्र बैंकले भने कुनै पनि सुइँको पाएको थिएन।

मालाकारले चलाखीपूर्ण तरिकाले कारोबार गर्दा पनि उनकै खाताबाट यो कारोबार देखिएको विभागका एक अनुसन्धान अधिकारीले जानकारी दिए।

'उसले आफ्नै खातामात्र होइन। आफ्ना कर्मचारीको खाताबाट पनि कारोबार गर्ने गरेको रहेछ। उसले आजको समयसम्म आउँदा कति कर्मचारी फेरबदल गर्‍यो र कसकोबाट कति कारोबार गर्‍यो भन्ने रेकर्ड पनि छैन। यद्यपी अहिले भएका धेरै कर्मचारीको खाताबाट कारोबार भएको छ। तर धेरै कारोबार देखिएको अर्को एक जनालाई पनि हामीले अभियुक्त बनाएका छौं' ती अधिकारीले भने।

मालकारको काठमाडौंको टोखामा रहेको फ्ल्याट तथा बैंक खाता र अन्य सबै सम्पत्ति रोक्का भएको भने उनका नाममा पक्राउ पुर्जी जारी भएको छ।

यो घटनाको अनुसन्धान र मुद्दाको सफलता भयो भने समाजमा गलत काम सँधै लुक्न नसक्ने सन्देश जाने मैनालीको भनाइ छ।

'यो घटनाले के देखाउँछ भने गैरकानूनी काम गरेर जति लुके पनि एक न एक दिन राज्यले समात्छ। त्यतिबेला दु:ख पाइन्छ। यसबाट अर्को सन्देश पनि जान्छ जसले कानूनको परिधिमा बसेर काम गर्छ उसले तनाव तथा दु:ख भोग्नु पर्दैन। तर गलत गर्ने सधैं लुक्न सक्दैन' उनले भने।

धेरै मूल्य पर्ने तर सानो ‘भोल्युम’का वस्तुको अवैध कारोबार फस्टाएको विभागको बुझाइ छ।

नक्कली बिल तथा भ्याट छलीसँगै यस्तो अवैध व्यापारको ठूलो सञ्जाल भएकोबारे विभागले अनुसन्धानको दायरा विस्तार गर्ने तयारी पनि गरेको छ।

स्रोत: सेतोपाटी




Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post